Wednesday, February 15, 2017

सम्बन्ध गाँस्नुअघि होस पुर्‍याउनुपर्छ


मंसिर १, २०७१भनिन्छ, जोडी स्वर्गमै बन्छ । अग्निको सात फेरा तथा मन्त्रोच्चारणपछि दुलहा-दुलही प्रेमको बन्धनमा बाँधिन्छन् । हिजोआज सम्बन्धको परिभाषा परिवर्तन हुँदैछ । राम्रो सम्बन्धका लागि कहिलेकाहीँ परिवारले अनेकौं झूटा कुरा गरेर विवाह गराउँछन् । यसो गर्दा पछि गएर सम्बन्ध बिग्रने स्थिति आउँछ । त्यसैले वैवाहिक सम्बन्ध गाँस्दा यथार्थको धरातल छोड्नु हुँदैन ।
देखाबटीपनबाट जोगिनुपर्छ

कहिलेकाहीँ दुलहीका परिवार आफ्नी चेलीको विवाह उँचो तथा धनी परिवारमा गराउने चक्करमा आफूसँग भएको सम्पूर्ण पुँजी विवाहमा खर्च गर्छन् । यसले भविष्यमा कस्तो असर गर्छ त्यसको हेक्का राख्दैनन् । वास्तविकता ढिलोचाँडो खुलिहाल्छ । थाहा पाएपछि दुलहाको परिवारले उनीहरूलाईर् हेयको दृष्टिले हेर्छ । छोरीको सुखका लागि गरिएको फजुल खर्चले उनको जीवन अझ कष्टकर हुन्छ ।

झुक्याउनु हुँदैन

धेरै पटक उच्चशिक्षाको धाक लगाएर सम्बन्ध निश्चित गरिन्छ । सम्बन्ध पढेलेखेको परिवारमा होस् भनेर झूटो पनि बोलिन्छ । साँचो कुरा अघि आएपछि सम्बन्ध चिसिन्छ । धेरै पटक जातीय हिसाबले पनि झूटो बोलेर कुरा चलाईन्छ । संस्कार नमिल्दा पनि जीवन सोचेजस्तो हुँदैन ।

सम्बन्धका लागि हतार गर्नु हुँदैन

छोराछोरीको विवाह गर्ने चिन्ता आमाबुवालाईर् हुनु स्वाभाविक हो तर जिम्मेवारीलाईर् चाँडै सिध्याउन जस्तो पायो त्यस्तो जीवनसाथीको टाँसो लगाउनु हुँदैन । भरसक छोराछोरीहरूलाईर् पढाएर उनीहरूको करियर राम्रो बनाउन सघाउनुपर्छ । कसैको बहकाउमा आएर अमूल्य जीवनको आहुति दिनु हुँदैन । उमेर पुग्यो भन्दैमा अगाडि-पछाडि केही नहेरी सम्बन्ध गाँसिदिनु हुँदैन । विवाह जीवनको महत्वपूर्ण पक्ष हो । यसका लागि चिनेजानेका साथीभाइ एवं आफन्तहरूको सहयोग लिनुपर्छ । विवाह पुतलीको खेल होइन, त्यसैले सावधानी अपनाउनुपर्छ । आफ्नो तरिकाले छानविन गरिसकेपछि मात्र सम्बन्ध गाँस्नुपर्छ । परिवारका कुनै सदस्यको बहकाउमा आएर कुरा पक्का गर्नु हुँदैन । यो सन्तानको जीवनको प्रश्न हो । त्यसैले पर्याप्त सजगता अपनाउनुपर्छ ।

हैसियतको ख्याल गर्नुपर्छ

छोरीको विवाह राम्रो घरमा होस् भन्ने चाहना सबैमा हुन्छ । यसको अर्थ राम्रो संस्कार, राम्रो विचार हो । आमाबुवा आफ्नी छोरीका बारेमा धेरै बनाबटी कुरा पनि गर्छन् । आफ्नो हैसियतअनुसार प्रस्तुत हुनुपर्छ । कुनै प्रकारको शंका हुने ठाउँ दिनु हुँदैन । आफ्नो हैसियत, संस्कार तथा विचार मिल्ने परिवारसँग सम्बन्ध गाँस्नुपर्छ । आफूभन्दा उच्च वर्ग वा आफ्नो विचार नमिल्ने परिवारमा छोरीको विवाह गर्दा छोरीलाईर् सामञ्जस्यता कायम गर्न कठिन हुन्छ भने आफूभन्दा निम्न स्तरमा छोरीको विवाह गर्दा पनि सानातिना कुरा पूरा गर्न कठिन हुन्छ ।

केटाका बारेमा जानौं

सम्बन्धको सबैभन्दा महत्वपूर्ण तत्व भनेको केटाका बारेमा सम्पूर्ण जानकारी हासिल गर्नु हो । जुन केटाको हातमा छोरीको हात सुम्पने हो उसका बारेमा विस्तृत जानकारी लिनुपर्छ । कतिपय अवस्थामा केटाहरू आफ्नो इच्छानुसार विवाह गर्न चाहन्छन् तर अभिभावकहरू आफ्नो मान-सम्मान तथा दाइजोको लोभमा छोरालाईर् आफूले भनेको ठाउँमा विवाह गर्न दबाब दिन्छन् । यसरी गरिएको विवाह दिगो हुन सक्दैन । कतिपय अवस्थामा केटाले अर्को विवाह गर्छ । यसले छोरीको जीवनमा प्रश्नचिन्ह लाग्छ । विवाहले दुई मनलाईर् मात्र होइन दुई परिवारलाईर् जोड्ने काम गरे मात्र सम्बन्धको दायरा बढ्छ । जुन घरमा जीवनपर्यन्त बस्ने गरी छोरी बिदाई गर्ने हो त्यही घरको परम्परा, संस्कार, रहनसहन, खानपान आदि कुरामा मेल खानुपर्छ । उनीहरूको पुख्र्यौली घर कहाँ हो, उनीहरूको खानदान कस्तो छ, समाजमा उनीहरूको छवि कस्तो छ, उनीहरूका आफन्तहरू कहाँ छन् सबै कुराको जानकारी लिनुपर्छ ।

बिरामीका सम्बन्धमा

आफ्ना सन्ततिका विषयमा सही कुरा बताउनु आमाबुवाको कर्तव्य हो । आफ्ना सन्ततिको रोग, शारीरिक कमी-कमजोरी आदिका बारेमा सबै कुरा नढाँटी बताउनुपर्छ ।

पर्फेक्ट कपल्स

जब दुई मन एक शरीर हुन्छ तब बन्न पुग्छ सुखद् सम्बन्ध र त्यस्ता व्यक्तिलाई नै हामी पर्फेक्ट कपल्स भन्छौं ।

आफ्नो प्रेम वा दाम्पत्य जीवनमा यो परफेक्सनका लागि केही समझदारी आवश्यक छ ।

स्मार्ट टि्रक्स

जस्तो हुनुहुन्छ त्यही रूपमा रहनुपर्छ, साथै आफ्नो पार्टनरलाई पनि उसकै रूपमा स्वीकार गर्नुपर्छ ।

एउटा राम्रो सम्बन्धको प्रारम्भ नै एक्सेप्लेन्स अर्थात् स्वीकारको भावबाट हुन्छ । दम्पतीले एक-अर्कालाई परिवर्तन गर्ने प्रयास गर्नु हुँदैन । न त एक-अर्काबाट परफेक्सनको अपेक्षा राख्नु नै उचित हुन्छ ।

सेयरिङ आवश्यक छ

जब एउटा सम्बन्धमा बाँधिइन्छ, तब यो कुरा मनमा आउनु ठीक होइन कि यो कुरा मेरो हो र यो तिम्रो । जे जस्तो छ दुवैको हो । आफूमाथि पार्टनरको पनि अधिकार छ । त्यसैले सेयरिङ अत्यन्त आवश्यक छ । धेरै टीका-टिप्पणी एवं रोक-टोक गर्नु हुँदैन ।

जुन कुराले पार्टनरलाई खुसी प्रदान गर्छ, उसलाई त्यो कार्य गर्न दिनुपर्छ । हरेक कुरामा एक-अर्कालाई रोकटोक गर्नु ठीक होइन ।

यदि श्रीमान्लाई मित्रजनका साथमा पार्टी जान मन छ भने जान दिनुपर्छ । यसैगरी यदि श्रीमतीलाई सपिङ गर्नुछ भने त्यसमा उत्साहित गर्नुपर्छ, गुनासो गर्नु हुँदैन ।

तिमीलाई जोसित प्रेम छ, मलाई पनि उसैसित प्रेम छ । दुवैलाई एक-अर्काको रुचिसित प्रेम छ भन्ने अनुभूति दिलाउनुपर्छ । प्राय: दम्पती एक-अर्काका आफन्तजनलाई रुचाउँदैनन् र त्यही कुरा झगडाको कारक बन्छ । सम्बन्धमा बाँधिएपछि एक-अर्काको परिवारलाई स्वीकार गर्नु आवश्यक हुन्छ, कारण अब उनीहरू पनि आफ्नैै परिवार बनिसकेका छन् ।

एक-अर्काको स्वभावको अन्तरलाई

सकारात्मक रूपमा लिनुपर्छ । यही सिद्धान्तलाई विचार गरी एक-अर्काको अलग र फरक व्यक्तित्वको प्रशंसा गर्नुपर्छ र यही अन्तरलाई इन्जोय गर्नुपर्छ । कहिल्यै एउटै जस्तो बनाउने प्रयास गर्नु हुँदैन ।

जलन-ईष्र्यालाई हावी हुन दिनुहुँदैन :

जो कसैलाई कसै न कसैसित ईष्र्या वा द्वेष हुनसक्छ । यसमा आफ्नो कमजोरी हावी हुन दिनु हुँदैन, जसका कारण आफ्नो सम्बन्ध प्रभावित हुनसक्छ । मनमा अकारण शंका-उपशंका पाल्नु हुँदैन । भरोसा गर्न सक्नुपर्छ ।

समस्या समाधान गर्नुपर्छ : बिहान झगडा वा विवाद भएको स्थितिमा साँझ पनि एक-अर्कासित कुरा नगरी बित्न सक्छ । त्यसको प्रभाव भोलिपल्टसम्म पनि कायम रहन्छ । अत: त्यो कुराको समाधान त्यही दिन गर्नु उपयुक्त हुन्छ ।

सरल बनौं, खुसी रहौं : सम्बन्धमा हामी जति सरल बन्छौं र छलकपटबाट टाढा रहन्छौं, सम्बन्ध त्यति नै बलियो र दिगो हुन्छ । दुवै एक-अर्काको साथमा यस कारण हुनुहुन्छ, कि एक-अर्कालाई आफ्नो उपस्थितिबाट खुसी राख्न सकौं, जिउने हौसला र उमङ्ग प्रदान गर्न सकौं । यो कुरामा ध्यान दिन सके नकारात्मक विचार हावी हुन पाउँदैन ।

जे तिमीलाई मनपर्छ, त्यही मेरो रोजाइ : यदि दुवैको रुचि र रोजाइ अलग-अलग छ भने पनि एक-अर्काको रुचिमा चाख राख्न सक्नुपर्छ । श्रीमान्लाई फुटबल मनपर्छ तर श्रीमतीलाई कुकरी शो भने फुटबल हेर्दा श्रीमतीले गुनासो गर्ने र कुकरी शो चलेका बेला श्रीमान्ले गुनासो गर्ने हो भने स-साना कुरामा झगडा भैरहन्छ । यस्तोमा श्रीमतीले फुटबलमा थोरै रुचि देखाए अनि श्रीमान्ले थोरै कुकिङमा भने कुरा बिग्रन पाउँदैन ।

वाचा तोड्नु हुँदैन : एक-अर्कासँग गरिएको वाचा हरसम्भव निर्वाह गर्नुपर्छ होइन भने विश्वास हराउँदै जान्छ । कुनै कारणवश आफ्नो वाचा निर्धारित दिनमा पूरा हुन नसके अर्को दिन पूरा गर्नुपर्छ । यसबाट आफ्नो पार्टनरलाई तपाईंं उनको खुसीको ख्याल राख्नुहुन्छ र आफ्नो वाचा पूरा गर्नुहुन्छ भन्ने पर्छ ।

चिटिङ गर्नु हुँदैन : तपाईंसित संसारकै राम्रो व्यक्ति छ भने अरुसित किन फ्लर्ट गर्ने ? प्राय: फ्लर्टिङको चक्करमा इमोसनल सम्बन्ध बन्न पुग्छ, जसका कारण समस्या सिर्जना हुन सक्छ । फ्र्लट गर्नु छ, रोमान्स गर्नु छ भने एक-अर्कासित गर्नुपर्छ । यसबाट सम्बन्धमा न्यानोपन आउँछ र प्रगाढता पनि बढ्छ ।

प्रेम अभिव्यक्ति गरिरहनुपर्छ : प्रेमको अभिव्यक्तिले सम्बन्धमा रोमान्सलाई कायम राख्छ, त्यसैले कहिले फोनमा, त कहिले म्यासेजद्वारा आई लभ यू जस्ता शब्द व्यक्त गरिरहनुपर्छ ।

राम्रो सहयोगी बन्नुपर्छ : कुनै पनि जिम्मेवारीमा एक-अर्कालाई सघाउनुपर्छ । आफ्ना तर्फबाट सहयोगका लागि तत्परता देखाउनुपर्छ । प्राय: महिलाले आफ्नो घर प्रोपर्टी, श्रीमान्को प्रोफेसनसित जोडिएका समस्यामा उनीहरूले केही गर्न सक्दैनन् भन्ने सोच्छन् भने पुरुषहरू पनि घरेलु जिम्मेवारी, श्रीमतीको डिपार्टमेन्ट भन्ने मान्छन् । यो गलत सोच हो । एक-अर्कालाई नै हरेक समयमा, हरेक मौकामा सहयोगको आवश्यकता हुन्छ, अत: एक-अर्कालाई सहयोग गर्ने प्रयास गर्नुपर्छ ।

कम्प्लिमेन्ट्स दिन बिर्सनु हुँदैन : चाहे त्यो कुरा लुक्सका बारेमा होस्, फिट्नेसका मामिलामा वा कुनै सफलतामा, एक-अर्कालाई कम्प्िलमेन्ट दिनुपर्छ । आफ्नो प्रशंसाले पार्टनरका लागि विशेष महत्व राख्छ । यसले सम्बन्धमा ताजापन कायम गर्छ ।

आफूलाई मन नपर्ने कुराका सम्बन्धमा जानकारी गराउनुपर्छ : अधिकांश सम्बन्ध केही मिस अन्डरस्ट्यान्डिङका कारण टुट्छ । त्यस्तो तब हुन्छ जब एक-अर्कालाई एक-अर्काको केही बानी-व्यवहार मन पर्दैन । अत: जुन कुरा आफूलाई मन पर्दैन, त्यसका बारेमा पहिले नै जानकारी गराउनु राम्रो हुन्छ । जसले विवाद सिर्जना हुँदैन र आपसी समझदारीमा ती कुरालाई सुल्झाउन सकिन्छ ।

पर्सनल अटेन्सन दिनुपर्छ : दुवै जति नै व्यस्त किन नहुन्, एक-अर्काका लागि समय निकाल्नुपर्छ । दुई-चार दिन छुट्टी लिएर कतै बाहिर घुम्न जानुपर्छ । जहाँ मात्र तपाईंं दुईजना रहनुहुन्छ । परिवारको भीडमा पनि सबैबाट छलिँदै केही ख्यालठट्टा गर्नुपर्छ । यही पर्सनल अटेन्सनले दुवैलाई अझ नजिक ल्याउँछ ।

मित्र बन्ने प्रयास गर्नुपर्छ : मित्रताको सम्बन्ध अनमोल र सबैभन्दा अलग हुन्छ । हामी आफ्नो मित्रसित सबै कुरा सेयर गर्छौं । कारण मित्रले नै हामीलाई राम्रोसँग बुझ्छन् भन्ने विश्वास हुन्छ । जबसम्म यही विश्वास आफ्नो प्रेम सम्बन्धमा सिर्जना हुँदैन तबसम्म पर्फेक्ट कपल बन्न गाह्रो हुन्छ । अत: यो विश्वास जागृत गर्नुपर्छ कि यही व्यक्तिले मलाई बुझ्न सक्छ, मलाई धोका दिँदैन, मलाई साथ दिन्छ, गल्तीमा सही दिशा देखाउँछ र मलाई स्वीकार गर्छ ।

जिनले तय गर्छ पार्टनर

विज्ञान भन्छ : साइकोलिजिकल साइन्समा प्रकाशित अध्ययन-प्रतिवेदनअनुसार हामी कुन रूपमा पार्टनर चयन गछौर्ं । त्यसका लागि हाम्रो जिनको भूमिका महत्वपूर्ण हुन्छ । प्राय: हामी त्यस्ता साथी चयन गर्छौं जसको जिनोटाइप असमान हुन्छ ।

विज्ञानलाई व्यवहारमा ल्याऔं : यदि पार्टनरको जिनोटाइप आपसमा अलग छ भने त्यसले दम्पतीको सन्तानको इम्युन सिस्टम मजबुत हुन्छ । अत: आफ्नो जिनको निर्णयलाई स्वीकार गरौं र भावी पुस्तालाई स्वस्थ बनाऔं ।

जादु आलि·नको

विज्ञान भन्छ : नर्थ केरोलिना युनिभर्सिटीका चिकित्सकहरूका अनुसार आलिङ्गन गर्नाले ब्लड प्रेसर कम हुन्छ र शरीरमा अक्सिटसिन नामक हार्मोनको स्तर बढ्छ, जसले आर्गेज्म प्राप्त गर्न मुख्य भूमिका निर्वाह गर्छ । शोधकर्ताले केही दम्पतीमा यो अध्ययन गर्दै तिनलाई एक-अर्काको सामीप्यमा १० मिनेटसम्म बस्न दिएर उनीहरूलाई कुराकानी गर्न भनियो । त्यसबाट एक-अर्कासित केही समयसम्म आलिङ्गन गर्न भनियो । त्यसपछि पोजिटिभ रिजल्ट प्राप्त भयो । उनीहरूको ब्लड प्रेसर तथा अक्सिटसिन स्तरमा केही परिवर्तन पाइयो, तर जब यो फर्मुला दैनिक प्रयोगमा ल्याइयो, तब त्यस्तो परिवर्तन अझ बढी देखा पर्‍यो ।

विज्ञानलाई व्यवहारमा ल्याऔं : प्रेम व्यक्त गर्न आलिङ्गनभन्दा राम्रो उपाय अरू के हुन सक्छ ? अत: दैनिक रूपमा आफ्नो पार्टनरलाई आलिङ्गन गर्नुहोस् र ब्लड प्रेसरलाई वाइवाई भन्नुहोस् ।

हेल्दी राख्छ सेक्सले

विज्ञान भन्छ : शोधहरू अनुसार जो सातामा एक वा दुई पटक यौन सम्पर्क राख्छन्, ती दम्पतीमा इम्योनोग्लोसिनको मात्रा बढी हुन्छ, जुन एउटा एन्टीबडी हो र त्यो रोग वा इन्फेक्सनसित लड्न सहयोगी साबित हुन्छ । जो सातामा एकपटक पनि यौन सम्पर्क गर्दैनन्, उनीहरूमा इम्युग्लोविन तुलनात्मक रूपमा कम भएको पाइन्छ ।

विज्ञानलाई व्यवहारमा ल्याऔं : आफ्नो वैवाहिक जीवनलाई ताजा राख्न यौन जीवनलाई बेवास्ता गर्नु हुँदैन । यौनको खुलेर आनन्द लिनुपर्छ र स्वस्थ बन्नुपर्छ ।

मनको कुरा

विज्ञान भन्छ : शोधबाट के सिद्ध भैसकेको छ भने जुन महिला आफ्ना श्रीमान्को मनको कुरा ध्यानपूर्वक सुन्छिन्, खुसी सेयर गर्छिन्, उनको हौसला बढाउँछिन्, उनीहरूको सम्बन्ध बलियो हुन्छ । अन्य दम्पतीको तुलनामा उनीहरू बढी सन्तुष्ट हुन्छन् ।

विज्ञानलाई व्यवहारमा ल्याऔं : श्रीमान्को हरेक कुरा ध्यानपूर्वक सुन्ने र उनीसित आफ्नो मनको हरेक कुरा भन्नाले दुवैको मन हल्का हुन्छ । दुवै अझ नजिक हुन्छन् र आपसी सम्बन्धमा प्रेमको कमी हुन पाउँदैन ।



चुम्बनको महत्व

स्टेट युनिभर्सिटी अफ न्यूयोर्कका जर्ज गेलपका अनुसार जब कुनै पार्टनरले एक-अर्कालाई पहिलो पटक चुम्बन गर्छन् तब उनीहरूलाई थाहा हुन्छ कि ऊ कति आकर्षक छ र उनीहरूको सम्बन्धको आयु कति लामो छ ? गेलअपका अनुसार चुम्बन गर्दा मस्तिष्कमा सूचना आदानप्रदान हुन्छ । जसबाट जिनेटिक इनकम्पेटिविलिटीको सम्भावना रहन्छ ।

अन्य कुरा

-    जसको दाम्पत्य जीवन सुखद् हुन्छ, उनीहरूको मेन्टल हेल्थ राम्रो रहन्छ र डिप्रेसन पनि कम हुन्छ ।

-    ह्यापी मेरिड कपल्सको यौन जीवन सन्तोषजनक हुन्छ र उनीहरूले करिअरमा पनि सफलता प्राप्त गर्छन् ।

-    पिट्सवर्ग युनिभर्सिटीको अध्ययनअनुसार विवाहित महिलामा हृदय रोगको खतरा कम हुन्छ ।

-    विवाहित दम्पती अविवाहितहरूको तुलनामा धेरै बाँच्छन् र उनीहरूमा क्यान्सरको सम्भावना पनि कम हुन्छ ।

-    ह्यान्डसम पुरुषको स्पर्मको क्वालिटी बढी राम्रो हुन्छ । शोधमा हेल्दी स्पर्म ती व्यक्तिमा पाइयो जो मुहारले आकर्षण थिए र महिलाका लागि पर्फ]{ट पनि ।

-    अध्ययनअनुसार जुन महिलाको आवाज मधुर हुन्छ, उनीहरू तुलनात्मक रूपमा बढी सुन्दर हुन्छन् ।

घरमा बिजातीय बुहारी भित्रिँदा

समाज र यसका मान्यताहरू तीव्र गतिमा परिवर्तन भईरहेका छन् । हिजो जुन कुरा वा घटना असामान्य र असम्भव थिए, आज ती कुरा सामान्य र सम्भव भएका छन् । अन्तरजातीय विवाह यस्तै श्रेणीको एउटा घटना हो, जसलाई केही समय अघिसम्म यस्तो पनि हुन्छ भनेर आश्चर्य व्यक्त गरिन्थ्यो । आज सहरी क्षेत्रका हरेक चौथो घरमा बिजातीय बुहारी भित्रिन थालेका छन् ।

बिजातीय बुहारी भित्रिनुको प्रमुख कारण युवतीहरू घरबाट निस्कनु पनि हो । उनीहरू युवकहरूसँग एउटै सीटमा बसेर स्कुल-कलेज पढ्न थालेका छन् । एउटा अफिसमा एउटै पदमा एउटै तलब खाएर उनीहरूसँग प्रतिस्पर्धा गरिरहेका छन् । उनीहरूको व्यक्तित्व पुरुषको जत्तिकै अग्लिँदै जान थालेको छ । टेलिफोन, इमेल, इन्टरनेट आदिका कारण को नारी वा को पुरुष वा के जात-थर भन्ने कुरा गौण हुन थालेको छ । कतिपय अवस्थामा मित्रता भएको महिनौं बितिसक्दा पनि आफ्नो मित्र उपाध्याय बाहुन हो कि जैसी वा क्षेत्री छुट्टनि सकेको हुँदैन । जात र धर्मको निर्णयविना नै प्रेम सुरु भैसकेको हुन्छ । समयको गतिसँगै हाम्रो समाजका मान्यता एवं हाम्रा सोचहरूमा परिवर्तन आउन सकेको छैन । अशिक्षित र गाउँघरका कुरा छाडिदिऊँ, सहर-बजारका पढे-लेखेका मानिसहरू पनि छोराले बिजातीय बुहारीसँग पे्रम गर्‍यो वा विवाह गर्‍यो भने असन्तुष्ट हुन्छन् । कतिपयले त छोराका लागि घरको बाटो नै बन्द गरिदिएका छन् । यदि आफ्नी छोरी तल्लो जातसँग गइन् भने उनलाई घर बोलाउने, ज्वाइँ स्वीकार गर्ने काम हुँदैन । यसले छोराछोरीलाई दु:खी त बनाउँछ नै आमाबुबाको बुढेसकालको जीवन पनि सुखमय हुँदैन । विशेष गरी आमबुबाले छोरा वा छोरीले यस प्रकारको काम गरिहाले पनि त्यसलाई सामान्य रूपमा लिन सक्नुपर्छ ।

-    बिजातीय बुहारी भित्रिनुको अर्थ बुहारीमार्फत केही फरक संस्कार घरभित्र हुर्काउनु पनि हो । यदि आफ्नो संस्कार मात्र ठीक अरूको संस्कार गलत भनेर बस्ने हो भने त्यसले समस्या निम्त्याउँछ । कुनै पनि काम गर्दा आफ्नी बुहारीलाई यो काम यस कारण गरिएको हो, यो काम गर्नुको अर्थ यो हो भनेर बुझाउन सक्नुपर्छ । विनातुक र तर्कको काम गर्न बुहारीलाई दबाब दिनुहुँदैन ।

-    ब्राह्मणको घरमा बुहारीले छोएको नखाने, भान्साभित्र पस्न नदिने, छि:छि र दुरदुर गर्ने चलन छ । यदि बुढेसकालमा पनि उनीहरूले छोएको खान्न भन्ने दृढ विश्वास छ भने मात्र आफै पकाउनुपर्छ । अहिले शरीरमा जोस छ, खाना पकाउने शक्ति छ भन्दैमा म सधैं यस्तै हुन्छु भन्ने भ्रम पाल्नुहुँदैन ।

-    बिजातीय बुहारीको संस्कार र काम गर्ने तरिका बुझ्ने प्रयास गर्नुपर्छ । नबुझेका संस्कारका बारेमा चासो देखाउनुपर्छ र उनका कुरालाई महत्व दिनुपर्छ । यसो गरियो भने उनले पनि आफ्नो संस्कारका सम्बन्धमा चासो दिन्छिन् ।

-    हरेकलाई आफ्नो धर्म-संस्कृति प्यारो हुन्छ । यो कुरा बुझेर पनि धर्म-संस्कृतिप्रति व्यंग्य गरियो भने त्यसले विकराल रूप लिन सक्छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment