Sunday, August 21, 2016

खुट्टा किन गन्हाउँछ र खुट्टाको दुर्गन्ध कसरी हटाउने?

खुट्टाको दुर्गन्धसँग त सबैजना परिचित नै हुनुहुन्छ। कोहि-कोहि व्यक्तिहरूको झन् जुत्ता फुकालेपछि, कोठामा बस्नै नसकिने गरि उसको खुट्टा गन्हाउने हुन्छ, त्यो व्यक्तिमा तपाईँ पनि पर्न सक्नुहुन्छ। मीठो बासना आउने अत्तर लगाएका व्यक्तिहरूको पनि खुट्टा गन्हाउने हुन सक्छ। तर यस्तो किन हुन्छ? किन हाम्रो खुट्टाको दुर्गन्ध अन्य अङ्ग, जस्तै हत्केलाको भन्दा नराम्रो हुन्छ?

पसिनायुक्त खुट्टाले गर्दा पनि दुर्गन्ध आउन सक्छ, त्यसोभए हाम्रो शरीरको अन्य भागमा पनि त पसिना आउँछ, तर खुट्टामा आएको पसिनाले किन त्यस्तो साह्रो दुर्गन्ध फैलाउँछ त?

हाम्रो हरेक खुट्टामा २६ वटा हड्डी, ३३ वटा जोर्नी, १०७ वटा अस्थिपञ्जर र १९ वटा मांसपेशीहरू हुन्छन् र हाम्रो दुवै खुट्टामा जम्मा २,५०,००० पसिना ग्रन्थिहरू हुन्छन्, जसले प्रतिदिन १ कप पसिना निकाल्दछ। तर, धेरैजसो समयमा दुर्गन्ध आउने कारण पसिना मात्रै हुँदैन।

हाम्रो शरीरमा २ प्रकारका पसिना ग्रन्थिहरू हुन्छन्ः एपोक्राइन ग्रन्थि (Apocrine Glands) र एक्राइन ग्रन्थि (Eccrine Glands)। एपोक्राइन ग्रन्थिहरू कपाल अथवा रौँहरू भएको ठाउँमा हुन्छन्, जस्तै; टाउको, काखि, गुप्ताङ्ग। तर, यस्ता ठाउँहरूबाट निस्कने पसिना (पहेँलो रङ्गको बाकुलो तरल पदार्थ) हाम्रो दिमागमा भएको तनावको कारणले निस्कने गर्दछ। जब त्यो पसिनालाई हाम्रो शरीरमा भएका ब्याक्टेरियाहरूले पचाउँदछ, तब शरीरबाट दुर्गन्ध निस्कने गर्दछ। तर हाम्रो खुट्टामा त एपोक्राइन ग्रन्थि नै हुँदैन!


एक्राइन ग्रन्थिहरू हाम्रो शरीरका सबै भागहरूमा हुने गर्दछन्। जब हाम्रो शरीरको तापक्रम बढ्दछ, तब शरीरलाई चिसो बनाउनको लागि एक्राइन ग्रन्थिहरूबाट पसिना निस्कने गर्दछ। यी ग्रन्थिहरूबाट निस्कने पसिनामा पानी र नुन मात्रै हुने गर्दछ, त्यसैले यसबाट कुनै किसिमको गन्ध आउँदैन। माथि नै उल्लेख गरेअनुसार, हाम्रो शरीरमा दुर्गन्ध ल्याउने भनेको पसिनाले नभएर, छालामा भएका ब्याक्टेरियाहरूले हो।

खुट्टामा दुर्गन्ध ल्याउने ब्याक्टेरिया

हामी कहिल्यै पनि एक्लै बाँच्न सक्दैनौँ, हामीसँगसँगै हजारौँ सूक्ष्मजीवाणुहरू पनि बाँचिरहेका हुन्छन्। हाम्रो छालामा पनि अनगिन्ती ब्याक्टेरियाहरू बसिरहेका हुन्छन्। त्यस्तै अवस्था नहुञ्जेल सम्म अथवा दुर्गन्ध नआउञ्जेलसम्म हामीले त्यसको बारेमा मतलब गर्ने गर्दैनौँ।

सामान्यतयाः ‘स्टेफिलोकोकस एपिडर्माइडिस’ (Staphylococcus epodermidis) र ‘ब्यासिलस सब्टाइलिस’ (Bacillus subtilis) नामक दुई ब्याक्टेरियाहरू हाम्रो खुट्टाको छालामा बस्ने गर्दछन्। किनभने यी ब्याक्टेरियाहरूलाई न्यानो र ओशिलो ठाउँ मनपर्दछ, जुन वातावरण हामीले मोजा लगाउँदा पैदा हुन्छ। यिनीहरूले हाम्रो खुट्टाको एक्राइन ग्रन्थिबाट निस्केको पसिनामा पाइने ‘एमिनो एसिड’ र ‘ल्युसाइन’ रसायनिक पदार्थ खान्छन्। यी ब्याक्टेरियाहरूले ल्युसाइन खाएपछि, ‘आइसोभ्यालेरिक एसिड’ (Isovaleric Acid) नामक ग्याँसपदार्थ विसर्जन गर्ने गर्दछन्। यही ग्याँसले गर्दा नै हाम्रो खुट्टाबाट नराम्रो गन्ध आउने गर्दछ।
तर, ब्यासिलस सब्टाइलिस ब्याक्टेरियाले भने पसिना खाँदैन, यसले हाम्रो पाइतालाको नरम छालालाई खाने गर्दछ, र पछि सल्फर ग्याँस विसर्जन गर्दछ, जसले एकदमै नराम्रो दुर्गन्ध निकाल्दछ।

आखिरमा के निश्कर्ष निस्कियो भन्दा, पसिनाले गर्दा खुट्टा गन्हाउने होइन रहेछ, खुट्टाको छालामा भएका ब्याक्टेरियाहरूले त्यहाँबाट निस्केको पसिनालाई पचाएपछि विसर्जन गरेको ग्याँसपदार्थले गर्दा नै खुट्टाबाट दुर्गन्ध निस्कने रहेछ।

त्यसो भए, यस्तो दुर्गन्धलाई कसरी हटाउने त?

दुर्गन्धलाई हटाउने एउटै उपाय भनेको ब्याक्टेरियालाई हटाउनु हो, र त्यसको लागि हाम्रो खुट्टालाई सकेसम्म सुक्खा राख्नु जरुरी हुन्छ। त्यसलगायत यी ६ सजिला तरिकाहरूले पनि खुट्टाको दुर्गन्धलाई कम गर्दै लैजान्छः

१. नुनपानीमा डुबाउनुहोस्
“नुनले छालाबाट सुक्खापना हटाउँदछ, जसले गर्दा त्यहाँ ब्याक्टेरिया बाँच्न सक्ने सम्भावनालाई कम गराउँदछ।”, युनिभर्सिटी अफ पेन्सलभेनियाका पादविशेषज्ञ ‘अल डि’एन्जेलान्टोनियो’ले भने।
यसको लागि एउटा भाँडामा मनतातो पानी राख्नुहोस् र त्यसमा २ चम्चा नुन राख्नुहोस् र त्यसलाई घोल्नुहोस्।
नुनपानीको मिश्रणमा तपाईँको खुट्टालाई २० मिनेटसम्म भिजाउनुहोस्, १ हप्तासम्म यस्तो गरेमा तपाईँको खुट्टाबाट दुर्गन्ध आउन छाड्नेछ।
२. भिनेगरको मिश्रणमा डुबाउनुहोस्

यदि ब्याक्टेरियालाई पुर्णरूपमै सखाप बनाउन चाहनुहुन्छ भने, तपाईँको खुट्टालाई भिनेगरले धुनुहोस्। यसले ब्याक्टेरियामा भोकमरी फैलाउने काम गर्दछ।

यसको लागि, एउटा भाँडामा मनतातो पानी राख्नुहोस् र त्यसमा पानीको आधा भागजति भिनेगर मिसाउनुहोस्।
उक्त मिश्रणमा ३० मिनेटसम्म आफ्नो खुट्टा डुबाउनुहोस् र यो १ हप्तासम्म गर्नुभयो भने खुट्टाबाट दुर्गन्ध हट्नेछ।

३. चियाले खुट्टा पखाल्नुहोस्

कालो चियामा हुने रसायनले हाम्रो पाइतालामा हुने साना साना प्वालहरूलाई टाल्ने काम गर्दछ, जसले गर्दा त्यहाँ ब्याक्टेरियाहरू बस्न पाउँदैनन्। यसले प्राकृतिक एन्टिबायोटिकको काम पनि गर्दछ।

यसको लागि, १ कप पानीमा २ चम्चा कालो चिया राख्नुहोस् र १० मिनेटसम्म उमाल्नुहोस्। त्यस चियालाई मनतातो गराउनको लागि थोरै चिसो पानी मिसाउनुहोस् र त्यसले खुट्टा धुनुहोस्।

१ हप्तासम्म यस्तो गर्नाले पनि खुट्टाको दुर्गन्ध हट्ने गर्दछ।

४. सहि जुत्ता छान्नुहोस्

नाइलनबाट बनेको जुत्ताले खुट्टालाई ओसिलो बनाइराख्छ, जसले गर्दा ब्याक्टेरियाहरू आकर्षित हुन्छन् र दुर्गन्ध आउने गर्दछ। तर ऊनी अथवा अन्य कपडाबाट बनेको जुत्ताले खुट्टामा हावालाई आवतजावत गराउँदछ, जसले गर्दा खुट्टालाई सुक्खा राखिराख्दछ।

५. पर्फ्युम लगाउनुहोस्

खुट्टामा पर्फ्युम लगाउनाले पनि सुक्खा बनाइराख्दछ भने त्यसमा भएको अल्कोहलले ब्याक्टेरियाहरूलाई हटाउँदछ।

अन्त्यमा, माथिका उपायहरू अपनाउनुको साथसाथै आफ्नो खुट्टालाई दैनिक सफा राख्नुहोस्, जुत्तालाई लगातार २ दिनभन्दा बढी नलगाउनुहोस्, त्यसलाई धोएर मात्र लगाउनुहोस्। त्यसको लागि तपाईँसँग कम्तीमा पनि २ जोर जुत्ता र मोजा हुनुपर्दछ। यदि माथिका सबै उपायहरू अपनाउँदा पनि खुट्टाबाट दुर्गन्ध आउन छाडेन भने स्वास्थ्य चौकी जानु आवश्यक हुन्छ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment